रामपुरका महिला दिदिबहिनीहरुलाई बटारे धुप बनाउने तालिम प्रदान

  • पाल्पा, ७ पुस । रामपुरका महिला दिदिबहिनिहरुलाई ५ दिने सिपमूलक तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं. १० का महिला दिदिबहिनिहरुका लागि ५ दिने सिपमूलक तालिम प्रदान गरिएको हो । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा महिला दिदिबहिनिहरुलाई बटारे धुप बनाउने तालिम प्रदान गरेको छ । उनिहरुलाई पुजाआजामा प्रयोग हुने स्थानीयस्तरमा पाईने सुकेका विभिन्न फुलबाट तयार गर्न सकिने बटारे धुप बनाउने सिप सिकाइएको हो ।सिर्जना आमा समुह रामपुर १० पाल्पाको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरेको हो ।सोमबार तालिम समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिला दिदिबहिनीहरुलाई आर्थोपार्जन गरि आत्मनिर्भर बनानउका लागि रामपुर नगरपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिला दिदिबहिनिहरुको माग र आवश्यकता अनुसार समय सुहाउँदो व्यवहारिक कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो ।उपप्रमुख थापाले महिला दिदिबहिनीहरुको सिक्ने र कमाउने चहानालाई पुरा गर्नका लागि आय आर्जनमूलक तालिमहरु सञ्चालन गर्दै आएको बतानुभयो ।तालिमबाट सिकेका सिपको माध्यमबाट उत्पादित बस्तुको बजारीकरणको व्यवस्था उपप्रमुख कोशेली घर मार्फत रामपुर नगरपालिकाले गर्दै आएको जानकारी दिनुभयो । साथै उहाँले तालिममा सिकेका सिपको माध्यमबाट उद्यमी बनी आय आर्जन गर्न समेत आग्रह गर्नुभयो ।
    यस्तै रामपुर नगरपालिका वडा नं. १० का सदस्य पिताम्बर ओस्तीले सिकेका सिपलाई लगनशिलताका साथ निरन्तर रुपमा काम गर्न आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक मञ्जु अधिकारीले उत्पादन गरी धुप खोज्न बजार तथा पसलमा नभई गाउँघरमा आउने वातावरण बनाउने गरि काम गर्न आग्रह गर्नुभयो ।यस्तै दुर्गा देवि भण्डारीले आफ्नै गाउँठाउँमा भएका कच्चा पदार्थको विभिन्न सुकेका फुलको उपयोग गरी बटारे धुप उत्पादन गर्नु पर्ने बताउनुभयो ।समाजसेवि पार्वती न्यौपानेले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी तालिमको औचित्य पुरा गर्न आग्रह गर्नुभयो ।

    रामपुर १० को मुना मेमोरियल ट्रष्ट भवन जगटेआँपमा भएको कार्यक्रममा तालिममा सहभागी बिमला ओस्ती, विद्या अर्याल र शोभा भण्डारीले तालिममा सिकेका कुरा मेहेनतका साथ व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिम सञ्चालन गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।सिर्जना आमा समूहका अध्यक्ष सावित्रा अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।समृद्धि तिमिल्सिनाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन दिपा तिमिल्सिनाले गर्नु भएको थियो । ६० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको तालिमको सहजिकरण मञ्जु अधिकारीले गर्नु भएको थियो । समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation