रुपन्देही,३ पुष । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचनक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । वहाँले निर्वाचनको वातावरण सरकारले बनाइरहेकाले त्यसमा प्रतिवद्ध भएर आउन राजनीतिक दललाई आग्रह गर्नुभयो । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उदघाटन समारोहमा बोल्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्नु देशलाई दुर्घटनामा पार्नु भएको बताउनुभयो ।
‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सूचक राम्रो हुन सक्दैन, अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन, यो अवस्थामा निर्वाचनको विकल्प छैन । यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन्’ उहाँले भन्नुभयोे ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ, यसमा सबै दलको ध्यान जाओस ।
अर्थमन्त्री खनालले अहिले लगानीको वातावरण बन्दै गएको बताउनुभयो । ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलो पटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा बिस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ तर लगानीको वातावरण भएन, सूचकको आधार हुनुपर्ने थियो । वहाँले भन्नुभयोे–अन्तरिम सरकार र निजी क्षेत्रको सहकार्यमा तत्काल राहत कार्यक्रम अघि सारेर कार्यान्वयनमा लगेको छ, जेनजी आन्दोलन पछिको समयमा केही आर्थिक गतिविधि बिस्तार भएका छन ।’ उहाँले बुटवल पहिलेबाट औद्योगिक हव भएकाले त्यसलाई निरन्तरता दिनका लागि आग्रह गर्दै सरकारले गर्ने समन्वय अघि बढाउने बताउनुभयो । पुस ३ गतेदेखि १७ गतेसम्म लाग्ने यो प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले प्रदेश सरकारले उद्योगी व्यवसायीहरुलाई सहज हुनेगरी बजेट निर्माण गरेर कार्यान्वयनमा लगेको बताउनुभयो । पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवलको प्रदर्शनीले धेरैलाई नयाँ सन्देश दिने गरेको बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनहरुलाई प्राथमिकतामा दिएर अघि बढाउनुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डेले उत्पादनमूलक उद्योगहरुको यस्त प्रदर्शनीले प्रवद्धन हुने बताउनुभयो । नेपाल उद्योग परिसंघ लुम्बिनीका अधयक्ष एजाज आलमले औद्योगिक क्षेत्रको व्यवस्थापनका विषयमा सरकारले काम गर्न नसकेको बताउनुभयो । बुटवलका मेयर खेलराज पाण्डेले संघीय सरकारले स्थानीय सरकारसँग विकासका योजनामा समन्वय नगरेको बताउँदै धेरै बजेट फिर्ता गएको विषयमा अर्थमन्त्रीले ध्यानु दिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले धारणा राख्नुभएको थियो ।

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष आचार्यलाई प्रदान गरिएको हो । अर्थमन्त्री खनाल र संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले ४८ हजार १५५ रूपैयाँ राशीसहित सम्मानपत्र र दोसल्लाले पुरस्कृत गर्नुभयो । आचार्य मेचीकाली दैनिक बुटवलको संवाददाता र लोकान्तर डटकमको लुम्बिनी प्रदेश संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग संघले वि.स. २०५७ सालमा स्थापना गरेको यो पुरस्कारबाट यसअघि २५ जना पत्रकार पुरस्कृत भइसकेका छन । यस वर्षको पुरस्कार छनोटको लागि मूल्याङकन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसी र सदस्यहरूमा अर्थविद् मनिकर कार्की र रुपन्देही उद्योग संघका निर्वतमान अध्यक्ष दिलिप सापकोटा सदस्य थिए । पुरस्कार वितरण समारोहमा बोल्दै संयोजक जिसीले रुपन्देहीको आर्थिक र उद्योग क्षेत्रको विकासमा यो पुरस्कार थप प्रेरणा र हौसला मिल्ने बताउनुभयो । संघका महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले, धन्यवाद प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले गर्नुभएको थियो ।











