रोगसँगको लडाइँदेखि प्रदेश नेतृत्वसम्मः एमाले महाधिवेशनमा आचार्यको उचाइ

  • काठमाण्डौं,२७ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन सुरुहुदैछ । यो महाधिवेशनले संगठनको दिशा निर्धारण मात्र होइन, अबको नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा राखिएको छ । यिनै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रिय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिनुभएको छ । अहिले पनि केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालिरहनुभएका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रति कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीले पार्टीभित्र उहाँप्रति भरोसा थपिएको छ ।

    प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो

    लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा सरकार आर्थिक संकटको रुपमै उभिएको थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकेको अवस्था, नीति–योजना अव्यवस्थित, जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण र सुशासनप्रतिको अविश्वास बढिरहेको थियो । आचार्यले यी चुनौतीबाट प्रदेशलाई निकाल्दै समग्र कार्यव्यवस्था लयमा फर्काउनुभो ।
    भुक्तानी टुंग्याउँदै, नीति–योजना स्पष्ट पार्दै, सुशासनलाई अगाडि राख्दै र पूर्व विशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती जस्ता कडा निर्णयमार्फत उहाँले ‘कामले देखिने नेतृत्व’ को पहिचान बनाउनुभएको छ । जेनजी आन्दोलन अघि नै सुशासनमा जोड दिने निर्णय, पाँच लाख माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्ने जोखिमपूर्ण तर प्रभावकारी कदम र खर्चमा अनुशासन कायम गर्ने शैली पार्टीभित्र समेत चर्चाको विषय बनेको छ ।

    गौरव परियोजना र दीर्घकालीन संरचनामा देखिएको स्पष्ट नेतृत्व

    प्रदेशका गौरवका आयोजना आचार्यको प्राथमिकता बने । १२ तले, एक हजार दुई शैयाको लुम्बिनी प्रादेशिक अस्पताल तीव्र गतिमा निर्माण हुँदैछ । पाँच वर्षभित्र देशकै नमुना अस्पताल बनाउने लक्ष्यसँग अघि बढेको यो परियोजनाले प्रदेश सरकारको क्षमता देखाएको छ ।
    राजधानी क्षेत्र विकास, प्रशासनिक भवन निर्माणको अन्तिम चरण, प्राविधिक विश्व विद्यालयमा विद्यार्थी आकर्षण, रामपुर–कपुरकोट सडकमा भएको तीव्र प्रगति, १५ लोकमार्ग र ५८२ प्रादेशिक सडक समेटिएको गुरुयोजना, सयौं किलोमिटर सडक निर्माण तथा पुल–पुलेसा विस्तारले प्रदेशको भौतिक विकासलाई नयाँ स्तरमा पु¥याएको छ ।
    साथै, १३६ नयाँ खानेपानी आयोजना, कृषि यान्त्रीकरण, सिंचाइ विस्तार, एसईई नतिजामा उल्लेखनीय सुधार ल्याउने ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान, मातृ–बाल स्वास्थ्यका विशेष कार्यक्रम, क्यान्सर र मृगौला रोगको उपचारमा विशेष सुविधा जस्ता कदमले सामाजिक क्षेत्रमा आचार्यको काम देखिने रूपमै अघि बढेको छ ।

    कठिन रोगलाई जितेर फर्किएको दृढ नेतृत्व

    २०७२ मा क्यान्सरले थला पारेका आचार्यले जीवन–मरणको अवस्थाबाट उठेर फेरि राजनीतिक मैदानमा फर्किएको कथा पार्टीभित्र प्रेरक प्रसङ्गजस्तै बनिसकेको छ । भक्तपुर क्यान्सर अस्पतालदेखि भारतको मेदान्तसम्मको उपचार यात्रा, रजहरमा गरिएको प्राकृतिक चिकित्साले उहाँलाई पुनः दह्रो बनायो । रोगलाई जितेर संगठन र जनता बीच फेरि उभिएको यही आत्मविश्वासले आज उहाँको नेतृत्वप्रति अझ ठूलो विश्वास पैदा गरेको देखिन्छ ।

    पाको अनुभव र पार्टीमा निरन्तरको योगदान

    अनेरास्ववियूबाट २०३९ मा सुरु भएको आचार्यको राजनीतिक यात्रा २०४७ मा जिल्ला कमिटी सदस्य, २०५४ मा जिल्ला सचिव, २०६९ देखि २०७८ सम्म अध्यक्ष र त्यसपछि केन्द्रिय सदस्य हुँदै अघि बढेको हो । दुई पटक प्रदेशसभा सदस्य बन्नुभएका उहाँले आन्तरिक मामिला, सहरी विकास, खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्री हुँदै अहिले मुख्यमन्त्रीको रूपमा प्रदेश नेतृत्व गरिरहनुभएको छ ।

    महाधिवेशनमा चर्चाः संगठन बलियो पार्ने नेतृत्वको रूपमा आचार्य

    पार्टीभित्र अनुशासन, संगठन विस्तार, कार्यशैलीको स्पष्टता र व्यक्तिगत जीवनशैलीको सरलता आचार्यको बलियो पक्ष मानिन्छ । महाधिवेशनले संगठन बलियो बनाउने, भावी नेतृत्व टुंग्याउने र आगामी राजनीतिक यात्रा तय गर्नेछ । यस सन्दर्भमा प्रदेश नेतृत्वमा गरेको परिणाममूलक काम, कठोर निर्णय लिन सक्ने क्षमताले आचार्यलाई केन्द्रिय तहमा अझ महत्वपूर्ण भूमिकाका लागि अगाडि बढाएको छ । एमालेको ११औं महाधिवेशनले कस्तो नेतृत्व जन्माउँछ भन्ने आगामी दिनले बताउनेछ । तर, लुम्बिनी प्रदेशमा गरिएको काम र देखिएको दृढता हेर्दा चेतनारायण आचार्यको नाम अहिले पार्टीभित्र मजबुत रूपमा गुञ्जिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation