पाल्पा,२० मंसिर । एकल महालहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम शनिबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको हो ।कार्यक्रममा समाजमा हुने हिंसा, यसको अवस्था, निम्त्याउन सक्ने दुर्घटना, यसको न्यूनीकरण , कानुनी उपचार लगाएतका विषयमा सहजिकरण गरिएको थियो । सचेतना कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले एकल महिलाहरुलाई सामाजिक रुपबाटै हुने विभिन्न किसिमका हिंसाहरु चुनौतीको रुपमा रहेको उल्लेख गर्नुभयो । यसका लागि हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफु एकल भए पनि विभिन्न सिप र उद्यमको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह समेत गर्नुभयो ।यसका लागि रामपुर नगरपालिका संधै साथमा रहेको बताउनुभयो । 
यस्तै उपप्रमुख बाल कुमारी थापाले एकल महिलाहरुको हक अधिकार र समृद्धिका लागि एकल महिला दिदिबहिनीहरु एक भएर लाग्नु पर्ने बताउनुभयो ।उहाँले एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि रामपुर नगरपालिकाले नगरस्तरबाटै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । साथै सिप विकासका तालिम संगै सहयोग गर्ने बताउनु भएको छ । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र रामपुरका फोकल पर्सन सरस्वती पौडेलले गर्नु भएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका आर्थिक विकास समिति संयोजक दुर्गा देवि भण्डारी गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नुभएको थियो । नगर सभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्रका एकल महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।











