काठमाडौँ ,१८ मंसिर । केही दिनअघि को शंकास्पद र गम्भीर विषयहरू उल्लेखित यो पत्रले अहिले ठूलो हलचल र चिन्ता उब्जाएको छ । यो विषय सुरक्षा संयन्त्रको टाउको दुखाइ बनेको छ । धम्कीसहितको पत्र आएपछि अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले बताएको छ । उपत्यका प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालयहरूलाई सतर्क रहन भन्दै निर्देशन दिएको छ ।आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर धम्की दिएका थिए । ती युवकले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाँण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका हुन् । युवकले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा पूर्वआईजीपीहरू तथा अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ ।प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी युनिटहरूलाई सर्कुलर गर्दै धम्की दिएका व्यक्तिहरू सहभागी हुने कार्यक्रमस्थलमा पनि निगरानी गर्न र सूचना संकलन गर्न भनेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा यसरी धम्की दिने व्यक्ति भने नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । विदेशमा रहेर आतंक फैलाउने उद्देश्यले यस्तो धम्की दिएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ
यसरी धम्की दिने व्यक्तिको पृष्ठभूमि पनि आपराधिक देखिएको प्रहरी स्रोत बताउँछ । आफूलाई प्रकाश पाठक बनाउने ती व्यक्तिविरुद्ध यसअघि प्रहरीले विभिन्न कसुरमा मुद्दा चलाएको एक अनुसन्धान अधिकृतले बताए ।
अहिले अनुसन्धानकै क्रममा रहेको भन्दै यसबारे प्रहरी अधिकारीहरूले केही बोलेका छैनन् । भिडियोमा ती व्यक्तिले भने आफू भारतमा रहेको दाबी गरेका छन् । एक घण्टामै तीनरचार ठाउँ सरेर आफू बस्ने गरेकाले प्रहरीले नभेट्ने दाबी गर्दै सुरक्षा संयन्त्रलाई खुल्ला चुनौती दिएका छन् ।











