आकाश तत्त्व र चिदाकाश

  • (दर्शन दीप: विषय क्रमांक १६)
    हामी जब शान्त रातमा माथि अनन्त आकाशतिर हेर्छौं, मनमा एक किसिमको शून्यता र विशालताको आभास हुन्छ। तर वैदिक ऋषिहरूको दृष्टिमा यो देखिने नीलो वा कालो रित्तोपन मात्र ‘आकाश’ होइन। यो त पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश) मध्येको सबैभन्दा पहिलो र सूक्ष्म तत्त्व हो। जहाँ केही छैन जस्तो लाग्छ, त्यहाँ नै सबै थोक अटाउने सामर्थ्य हुन्छ। यही विरोधाभासपूर्ण सत्य नै आकाश तत्त्वको मूल मर्म हो।

    हाम्रो भौतिक अस्तित्वको जग नै आकाश तत्त्व हो। वैदिक विज्ञानले भन्छ कि सृष्टिको आरम्भमा ‘शब्द’ वा नादको उत्पत्ति भयो, र त्यो शब्दलाई बहने माध्यमको रूपमा आकाशको जन्म भयो। त्यसैले आकाशको मुख्य गुण नै ‘शब्द’ मानिन्छ। यो त्यो खाली ठाउँ हो जसले वायुलाई बहने बाटो दिन्छ, अग्निलाई जल्ने स्थान दिन्छ र जीवनलाई गतिशिल बनाउँछ। हाम्रो शरीरभित्र पनि त नसाहरूमा, कोषिकाहरूमा र फोक्सोमा जुन खाली ठाउँ छ, त्यो यही आकाश तत्त्वको अंश हो। यदि यो खालीपन नहुँदो हो त न रक्तसञ्चार सम्भव थियो न त प्राणको आवागमन। त्यसैले आकाशलाई केवल रित्तोपन भन्नु हाम्रो अज्ञानता मात्र हो। यो त सृष्टिको आधारशिला हो।

    तर, वैदिक चिन्तन यतिमा मात्र सीमित छैन। भौतिक आकाश अर्थात, ‘महाकाश’ भन्दा धेरै पर, अझ सूक्ष्म र रहस्यमय अर्को आकाशको चर्चा उपनिषद् र योग वाशिष्ठ जस्ता ग्रन्थहरूमा पाइन्छ। त्यसलाई भनिन्छ, ‘चिदाकाश’।
    चिदाकाश शब्द दुई पद मिलेर बनेको छ: ‘चित्’ अर्थात, चैतन्य वा चेतना, र ‘आकाश’ अर्थात् विस्तार। जसरी भौतिक वस्तुहरू रहनको लागि महाकाश चाहिन्छ, त्यसरी नै हाम्रो मन, बुद्धि, विचार र अहंकारलाई प्रकट हुनको लागि एउटा आधार चाहिन्छ। त्यो आधार नै चिदाकाश हो। यसलाई ज्ञानको आकाश वा चेतनाको अनन्त विस्तार भनेर बुझ्न सकिन्छ। जब कोही साधक ध्यानको गहिराइमा डुब्दै जान्छ, उसले बाहिरी संसार (महाकाश) र मनको संसार (चित्ताकाश) लाई पार गरेर एउटा यस्तो अवस्थामा पुग्छ जहाँ केवल शुद्ध अस्तित्वको बोध हुन्छ। त्यही अवस्था चिदाकाश हो।

    यसलाई यसरी बुझौं, जसरी सिनेमाको पर्दामा अनेकौं दृश्यहरू आउँछन र जान्छन, तर पर्दा जहिल्यै सेतो र दागविहीन रहन्छ। त्यसरी नै हाम्रो चेतनामा सुख, दुःख, जन्म, मृत्यु र अनेकौं घटनाहरू घट्छन, तर त्यो मूल चेतना वा चिदाकाश सधैं असङ्ग र शुद्ध रहन्छ। हामी अक्सर पर्दामा चलिरहेको चलचित्रमा यति मग्न हुन्छौं कि त्यो पर्दालाई नै बिर्सिन्छौं। ठीक त्यसैगरी, हामी सांसारिक प्रपञ्चमा अल्झिएर आफ्नो वास्तविक स्वरूप, त्यो अनन्त चिदाकाशलाई बिर्सिरहेका हुन्छौं।

    वैदिक दर्शनको सार नै यही हो कि बाहिरको आकाश (ब्रह्माण्ड) र भित्रको आकाश (पिण्ड) अन्ततः एउटै हुन्। जब एउटा माटोको घडा फुट्छ, घडाभित्रको आकाश र बाहिरको आकाश जसरी एक हुन्छन, त्यसरी नै अज्ञानको पर्दा हट्दा जीवको चेतना र त्यो परम चिदाकाश एककार हुन्छन। यो अवस्थामा न कुनै शब्द रहन्छ, न कुनै आकार। रहन्छ त केवल एक मौन, शान्त र परिपूर्ण अस्तित्व।

    हाम्रो जीवनको दौडधुप, कोलाहल र तनावको बीचमा कहिलेकाहीँ एकछिन रोकिएर विचार गर्ने हो भने, हामीले महसुस गर्नेछौं कि हामी शरीर मात्र होइनौं। हामी त्यो अनन्त आकाश हौं जसलाई न हतियारले काट्न सक्छ न आगोले जलाउन सक्छ। चिदाकाशको यो बोधले मानिसलाई सानातिना चिन्ताहरूबाट मुक्त गराएर एउटा विराट अस्तित्वको हिस्सा भएको महसुस गराउँछ। आकाश तत्त्वले हामीलाई बाहिरी जगतसँग जोड्छ भने चिदाकाशले हामीलाई हाम्रो आफ्नै वास्तविक स्वरूपसँग साक्षात्कार गराउँछ। यी दुवैको सन्तुलित बुझाइले नै जीवनलाई पूर्णता दिन्छ।
    इति दर्शनदीपे आलोकअग्रहरीकृतं चिन्तनस्य षाेडशाे विषयः समाप्तः।
    #DarshanDeep #ĀlokAgrahari
    #VedicWisdom

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation