देवदह, रुपन्देही — श्री खड्ग माध्यमिक बिद्यालय, देवदह–१, बिर्तामा ‘हरित विद्यालय’ अवधारणा अन्तर्गत संचालित करेसा–बारी निर्माण अभियानअन्तर्गत हिजो सम्पन्न शुक्रवारीय कार्यक्रम अत्यन्तै सफल तथा गतिविधिमूलक बनेको छ।
श्री खड्ग उद्यम क्लब, इको क्लब र हरित उद्यम समूहको संयुक्त आयोजनामा विद्यालय परिसरमा निर्माण गरिएको करेसाबारीमा सरसफाइ तथा रोपाइँका लागि आवश्यक तयारी कार्य सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरू समूहगत रूपमा करेसाबारीभित्र रहेका झाडी तथा झारपात हटाउने, मल्चिङ गर्ने, जमिन सम्याउने तथा आवश्यक उपकरण व्यवस्थापन गर्ने कार्यमा संलग्न भए। उनीहरूको उत्साह, श्रम र सहकार्यले करेसाबारीलाई रोपाइँका लागि व्यवस्थित र तयार बनाएको छ।
विद्यालयका अनुसार यस्ता व्यावहारिक तथा सृजनशील गतिविधिहरूले विद्यार्थीहरूमा उद्यमशीलतासँगै वातावरणीय चेतना, श्रमको सम्मान, जैविक खेतीका आधारभूत सीप र सिजनल बीउ–बिजनको ज्ञान अभिवृद्धि गराउने उद्देश्य राखिएको छ।
जैविक तरकारी तथा बहुउपयोगी बोटबिरुवाको उत्पादनमार्फत स्वावलम्बन, हरियाली र स्वस्थ वातावरण निर्माणमा विद्यालय समुदाय प्रतिबद्ध रहेको बताइएको छ।











