काठमाडौँ,१८ असोज। प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई प्रत्यक्ष अपिल गर्दै उनले भनिन्,तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्।
बाढी पहिरो बढ्दै गएपछि देशवासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गरेकी छिन् ।अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको बताउँदै प्रधानमन्त्री कार्कीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
हाल देशका धेरै नदी–नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको छ। यस्तो अवस्थामा उनले भनिन्,यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन् । प्रधानमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु चौबीसै घण्टा आपतकालीन सेवामा परिचालनमा रहेको बताइन्। उनले सरकार सबै उपलब्ध स्रोत र जनशक्ति परिचालन गरेर स्थानीय तह र नागरिकसँग सहकार्यमा जुटेको जानकारी दिइन्। महत्वपूर्ण राजमार्ग तथा पूर्वाधारको निगरानी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्ग पुनः सञ्चालनमा ल्याइने बताइन्।
अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्। बाढीको पानी वा पहिरोमा आवागमन नगर्नुहोस्।
प्रधानमन्त्री कार्कीले डुबान वा पहिरो जोखिम क्षेत्रका बासिन्दालाई ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन आग्रह गरिन्। उनले प्रहरी र विपद् व्यवस्थापन निकायद्वारा जारी आधिकारिक चेतावनी र सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरिन्।











