‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव

  • देवदह १९ चैत । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह क्षेत्रमा धार्मिक महोत्सव हुन लागेको हो । चैतको २१ देखि २८ गतेसम्म महोत्सव गरिने मंगलबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । एतिकासिक ‘देव,दह’को संरक्षण तथा विकास, चौपायाको ब्यवस्थापन र स्थानीय संदिप आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गर्नकालागि देवदहमा धार्मिक महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक एवं देवदह नगरपालिका–९ का वडाध्यक्ष मोहन जिसीले बताउनुभयो । उहाँले प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको बताए । उनल भने–‘‘यहाँ सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको छ । बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको छ ।’ उनले देवदहको प्रचार विश्वभरी गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै एक लाख भक्तजनले महोत्सवमा आउने र एक करोड संकलन गर्ने लक्ष्य रहेको बताए ।
    पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिराबहादुर खत्रीले देव दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले भने ‘देव दहको बारेमा विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। बुद्धकालीन समयमा राज्याभिषेकका क्रममा यहाँ स्नान गर्ने गरिन्थ्यो। यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको छ । पुरातत्व विभागले उत्खनन र प्रमाणीकरण लगायतका कार्यमा ढिलाइ गर्नु हुँदैन।’
    देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले यसलाई मङ्गलपुष्करिणी भनिएको हो । बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ ।महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते बिहान ९ः३० बजे शोभा कलश यात्रा निकालिनेछ। सोही दिन बिहान १०ः३० बजे महोत्सवको औपचारिक उद्घाटन गरिनेछ। महोत्सव अवधिभर प्रत्येक बिहान ७ बजे पूजा–अर्चना, ८ बजे पाठ पारायण, ११ बजेबाट ४ बजे सम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । चैत्र २८ गते पूर्णाहुति एवम् यज्ञ समापन गरी महोत्सव समापन गरिनेछ । महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ । कार्यक्रममा कथावाचक पं.चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् । महोत्सवबाट संकलित रकम छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गरिने आयोजक समितिले जनाएको छ । धार्मिक र सामाजिक उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा सबैलाई सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation